चैत १६ गते सिरहा । कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेको बेला गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई राहत उपलब्ध गराउन जिल्ला समन्वय समिति सिरहाको उप-सभापति सरोज यादवले स्थानीय सरकार संग आग्रह गरेको छ ।
यो समयमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन समेत व्यवसायीहरुलाई जिल्ला समन्वय समितिको उप-सभापति यादवले समेत आग्रह गरेको छ । उप-सभापति यादवले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोष भन्दा पनि व्यवस्थापन पक्ष मजबुत गर्नुपर्ने बताए । व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ ।
अहिले सरकारले राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बढि आबश्यकता रहेको उनले जिकिर गरे । उनले भने,‘अहिलेको प्रमुख आबश्यकता कोरोना संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सहज र सुलभ उपचार सेवा दिनु हो ।
तर संक्रमितहरु अस्पतालसम्म पुग्दा त्यहाँ उनीहरुलाई कुनै वास्ता नै गरिंदैन ।’ उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए । कोरोना रोकथामबारे प्रदेश सरकार र स्थानीय सरकार गम्भीर नरहेको समेत उनले आरोप लगाए ।

















