चैत १६ गते । सिरहा । सिरहा कारागारमा ठूलो संख्यामा कोचाकोच गरि कैदीबन्दीलाई राख्दा कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । जिल्ला अदालत सिरहाको आदेशमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर वविता महतोले जानकारी दिनु भयो ।
अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी समयवापतको रकम तिराएर छाड्न दिएको आदेशअनुसार कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताए ।
कुल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिला सहित ५५१ कैदीबन्दी छन् । एक जनामा पनि संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिइएको र संक्रमणबाट बच्ने उपायबारे सचेत गराइएको जेलर महतोको भनाइ छ ।


















