सिरहा चैत १० गते । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले ई.प्र.का.मै डाक्टर बोलाएर आफू मातहतका सिमा प्रहरी चौकी र प्रहरी चौकीका कर्मचारीहरु लाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा प्रशिक्षण गराएका छन्।
कार्यक्रममा विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रहरी कर्मचारी कर्मचारी कसरी सचेत रहने भन्नेबारे प्रशिक्षण दिइएको थियो। ईलाका प्रहरी कार्यालय लहानमा आई रा.उ. अस्पताल लहानको मे.सु. डा.सुनिल कुशवाहाले प्रहरी कर्मचारीहरुलाई कोरोना भाइरस र यसबारे बच्ने उपायबारे प्रशिक्षित गराएका हुन्। डा.कुशवाहाले प्रहरी कर्मचारी रातदिन नागरिकको सुरक्षामा खटिनुपर्ने कारण सबैभन्दा पहिले आफ्नो सतर्कता जरुरी रहेको बताए।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले प्रहरी स्वस्थ रहेमात्र महामारीको जोखिमबाट नागरिकलाई बचाउन र उद्दार गर्न सम्भव हुने बताए। उनले भने, ‘प्रहरी जनताको साथी हो, जनताका हरेक दुखसुखमा पहिलो पंक्तिमा उभिने शक्ति हो प्रहरी। सबैभन्दा पहिले प्रहरी आफू स्वस्थ रहनुपर्छ। आफू स्वस्थ रहेर मात्र प्रहरीले नागरिकको सुरक्षा र आइपर्ने संकटमा उद्दारको काम गर्न सक्छ।’
थापाले कोरोना भाइरसको जोखिमभन्दा बढी प्रचार गरिएकाले उच्च मनोबलका साथ काम गर्न पनि प्रहरी कर्मचारीलाई आग्रह गरे। उनले भने, ‘यो महामारी विकसित मुलूकबाट क्रमशः अल्पविकसित र विकासशील मुलूकहरुतर्फ प्रवेश गरेको देखिएको छ। हामीकहाँ आवश्यक सतर्कता भन्दा पनि हल्ला बढी हुने गरेको छ। तपाईहरु पनि हल्लाको पछि नलाग्नुस्, आफ्नो सुरक्षा सतर्कतामा ध्यान दिनुस्। कार्यालय प्रमूखका तर्फबाट मैले तपाईहरुलाई गर्ने सबै सहयोगका लागि तयार छु। कार्यालयमै आएर प्रहरी कर्मचारीलाई स्वास्थ्य तालिम प्रदान गर्नुभएकोमा सदा सर प्रति प्रहरी परिवार आभारी छ।’
प्रशिक्षणमा कोरोना भाइरसबारे जानकारी गराउँदै डा. कुशवाहाले विषम परिस्थितिमा प्रहरीले नागरिकको सुरक्षा गर्नुपर्ने हुँदा पहिला आफू भाइरसबाट मुक्त हुनुपर्ने बताए। उनले भने, ‘विषम परिस्थितिमा डाक्टरले बिरामीको उपचार गर्छ। प्रहरी पनि त्यस्तै हो। उसले विषम परिस्थितिमा नागरिकको सुरक्षा गर्नुपर्छ। कोरोना भाइरसबारे प्रहरी आफै सचेत नभएसम्म त्यसले समुदायको मनोबल बढाउन सक्दैन, प्रतिकूल परिस्थितिमा नागरिकको उद्दार गर्न सक्दैन। तसर्थ, कोरोनालाई आतंकका रुपमा होइन, यसबारे सतर्क रहने उपायबारे बुझ्न र बुझाउन जरुरी छ।’
डिएसपी थापाले ईलाका भरीका थुनुवाहरु लाई , स्थानीय नागरिकहरु लाई र प्रहरी चौकीहरुमा प्रहरी कर्मचारीहरुलाई माक्स बितरण गर्नुका साथै प्रहरी ईलाका प्रहरी कार्यालय लहानमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ। प्रहरीले कोरोना भाइरसको जोखिम र यसबाट बच्ने उपायबारे नागरिकलाई सचेत गराउन माइकिङ र हाते पर्चा बितरणको कामसमेत गर्दै आएको छ। कोरोनाको जोखिमविरुद्ध प्रहरीले देखाएको सक्रियताको स्थानीयले प्रशंसासमेत गरेका छन्।

















