लहान । नोवेल कोरोनाभाइरसको संक्रमणका कारण विश्व आक्रान्त भइरहेको बेला सचेतना अपनाउनुपर्नेमा समाजवादी पार्टी भने आफ्नो बिसु अभियानलाई जारी राखेको छ । समाजवादी पार्टीको बिसु अभियान आज (शनिबार) रौनियार सेवा सदन लहानमा भइरहेको छ ।

सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकठाउँमा भेला नहुन आग्रह गरेपनि समाजवादी पार्टीले सरकारको आग्रहलाई बेवास्ता गर्दै सयौंजनाको उपस्थितीमा आफ्नो संगठन सुदृढिकरण अभियानमा लागेको देखिएको छ । एक स्थानीयले भने,’राजनीतिक दलले कोरोनाको त्रासलाई कम गर्न नागरिकसंग सरसफाइ सम्बन्धी जनचेतना फैलाउनु यतिबेलाको प्रमुख कार्य हो । संगठन निर्माण लगायत पार्टीको विभिन्न गतिविधि गर्नु यतिबेला सामाजिक अपराध हुन्छ । समाजवादी पार्टीले गरेको क्रियाकलापले जनतामा नकारात्मक संदेश गएको छ ।’

समाजवादी पार्टीको यस्तो गलत हर्कतका कारण सर्वसाधारण पनि आक्रोशित देखिएका छन् । प्रदेश २ मा समाजवादी पार्टी नेतृत्वको सरकारले प्रदेशका जनतालाई यतिबेलाको संकटको घडीमा सचेत हुन र जनताको सुरक्षालाई ध्यानमा राख्नुपर्नेमा उल्टै जनताको स्वास्थ्यमाथि कुनै चासो नदेखाई सार्वजनिक कार्यक्रमको आयोजना गर्नु अशोभनीय रहेको देव कुमार यादवले बताए ।

उनले भने, अन्य प्रदेशमा त्यहाँका स्थानीय र प्रदेश सरकार मिलेर आफ्नो प्रदेशका जनतालाई कोरोनाको सचेतना सम्बन्धी बिभिन्न सन्देश फैलाइरहेका छन् तर हाम्रो प्रदेशमा भने प्रदेश सरकार र स्थानीय सरकार आफै सचेत छैन् ।’ उल्टै सयौंजनाको उपस्थितीका बिच सार्वजनिक कार्यक्रमहरुको आयोजना प्रमुख राजनीतिक दलका नेताहरुले नै गर्नु अत्यन्त दुस्खद पक्ष रहेको उनको भनाई छ ।

















