सिरहा । राजनीतिक प्रभावभन्दा पनि नागरिकको हकहितमा काम गरेर आफ्नो बेग्लै छवि बनाउन सफल सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारीसहित २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको एकै साथ सरुवा गरेको छ । अधिकारीको ठाउँमा आउन लागेका सरोज कुमार गुरागाइ गृहमन्त्रालयका सहसचिव हुन् । त्यस्तै अधिकारीलाई राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा भएको छ ।
सिरहामा करिब ९ महिना प्रमुख जिल्ला अधिकारी बनेर आएका अधिकारीले आफ्नो कार्यकालको ९ महिनाको अवधिमा जिल्लामा बिभिन्न सकारात्मक परिवर्तनहरु ल्याएका छन् । उनले जिल्ला प्रशासन कार्यालयको भौतिक संरचनामा पनि अकल्पनिय परिवर्तन ल्याएका छन् भने जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा सेवाग्राहीहरुको सहजताका लागि सेड निर्माण देखि बैंकको एक्सटेन्सन काउन्टर लगायतका सुविधाहरु आफ्नै कार्यकालमा थपेका छन् ।
प्रजिअ अधिकारीको सरुवाको खबरले सिरहाबासी दुःखी भएका छन् । अधिकारी जस्तो सिडियो साहेब हाम्रो जिल्लाका लागि एउटा उदाहरणिय पात्र छन्, स्थानीय जय कृष्ण यादवले भने, ‘सिडियो साहेबको सरुवा भएको खबरले हामी अत्यन्त दुःखी छौं ।’ नयाँ आउन लागेका सिडियो गुरागाइले पनि अधिकारी जस्तै काम गरुन् भन्ने हाम्रो चाहना रहेको उनले बताए ।


















