सर्लाही : सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ। यस वर्षका लागि हिजो बुधबार साँझबाट उखु क्रसिङ बन्द गरिएको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। उनका अनुसार यस वर्ष उद्योगले २६ लाख ६७ हजार ९ सय ७१ क्विन्टल उखु क्रसिङ गरेको छ। गत वर्ष उद्योगले ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो।
सूचना प्रकाशित गरेर उद्योग बन्द गरिएको र सर्भे गरिएको किसानका सबै उखु क्रसिङ गरेर सकिएको रजकले बताए। यस वर्ष उखुखेती निकै घटेकाले उखु अभाव भएको उखु प्रबन्धक रजकले जानकारी दिए। ‘सरकारले दिने अनुदान तथा कतिपय उद्योगले दिनुपर्ने भुक्तानीमा समेत निकै ढिलाइ भएपछि धेरै किसानले उखुखेती छाडेका छन्।’ उखुको भुक्तानी र सरकारले उपलब्ध गराउने अनुदान समयमा भुक्तानी नगर्दा किसानले उखुखेतीको विकल्प रोजेका छन्।
सर्लाहीमा तीन वटा चिनी उद्योग छन्। धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले यस वर्ष उखु क्रसिङ गरेन। चार वर्षदेखिको किसानको भुक्तानी दिन नसकेको अन्नपूर्णलाई यस वर्ष किसानले उखु दिएका थिएनन्। उद्योगले गत वर्ष नौ लाख ७ हजार ६ सय ९२ क्विन्टल उखु क्रसिङ गरेको थियो। जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा पर्ने गोडैता नगरपालिकाअन्तर्गत बगदह स्थित महालक्ष्मी सुगर मिलले पर्याप्त उखु नपाएपछि फागुन १५ गते नै क्रसिङ बन्द गरिसकेको छ। #thahkhabar
फेसबुकबाट तपाईको प्रतिक्रिया !