इटहरी : द्वन्द्वकालमा माओवादीको अस्थायी शिविर बसेको ठाउँ प्रदेश १ को पहिलो क्वारेन्टाइनस्थल बनेको छ।
जंगल नजिकै रहेको मोरङको टाँडीमा सेना समायोजन हुनुअघि माओवादीको अस्थायी शिविर थियो। बसोबासस्थलबाट टाढा यस ठाउँमा नेपाली सेनाले २ सय क्षमताको क्वारेन्टाइनस्थल तयार पारेको छ।
केही दिनअघि प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा १ हजार क्षमताको क्वारेन्टाइनस्थल बनाउने घोषणा गरेको थियो।
त्यसै अनुरुप टाँडीमा नेपाली सेनाले कोरोनासँग लड्न करिब ४ बिघा क्षेत्रफलमा क्वारेन्टाइन बनाएको हो। आफूसँग उपलब्ध टेन्ट, बेडलगायत सामग्री प्रयोग गरेर सेनाले एकै दिनमा क्वारेन्टाइनस्थल तयार परेको छ।
नेपाली सेना २ नम्बर बाहिनीपति यामप्रसाद ढकालका अनुसार टेन्टभित्र दुई-दुईवटा खाट राखिएको छ।
मोबाइल चार्ज, बत्ती, पंखालगायत आवश्यक सामग्रीसहितको क्यापमा हाल २५ वटा शौचालय र बाथरुम निर्माण गरिएका छन्। प्रत्येकमा चारजनाको दरले शौचालय जाने र नुहाउन सकिने छ।
खानेपानीका लागि पनि प्रत्येकका लागि छुट्टाछुटै व्यवस्था छ। कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनस्थलसम्म ल्याउन दुईवटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !